दोश्रो पोखरा कपः टी २० क्रिकेट प्रतियोगिता सम्पन्न - Kathmandu Daily

दोश्रो पोखरा कपः टी २० क्रिकेट प्रतियोगिता सम्पन्न



बेलायतमा नेपाली समुदायहरूका कैयौं संघसंस्थामध्ये एउटा छुट्टै परिचय बनाएको संस्था हो पोखरेली मंच यूके । प्राय यूकेका नेपाली संस्थाहरु वर्षमा एक दिन भेटघाट र भोज भतेर र नाचगान मात्र गरेर आफ्नो अस्तित्व जोगाइराखेका छन् । तर पोखरेली मंच यूके भने त्योभन्दा माथि उठेर अन्य सामाजिक कार्य गरी एउटा छुट्टै पहिचान दिन सक्षम भएको छ । यसका विभिन्न कार्यक्रममध्ये एउटा हो नेपाली युवाहरुलाई बेलायती क्रिकेट जगतमा चिनाउन शरु गरेको टी ट्वेन्टी क्रिकेट प्रतियोगिता । गत वर्षबाट शरु गरिएको यो एक द्वीवसीय प्रतियोगिता यो वर्ष पनि निरन्तरता दिँदै गत आइतबार ६ अगष्टका दिन नै सम्पन्न भएकोछ ।



८ वटा टिम मात्र सहभागी गराइएको यो प्रतियोगिताको उद्दघाटन नेपालवाट बेलायत भ्रमणमा आएका पोखरा क्रिकेट बोर्डका सदस्य, समाजसेवी अशोक पालिखे र मंचका अध्यक्ष मान प्रसाद गुरुङबाट भएको थियो । ८ वटा टिममा रमाइलो क्रिकेट क्लव, बगैंचा क्रिकेट क्लव, फ्रेन्ड्स युथ क्रिकेट, सिग्नल वारियर, हिमालयन क्रिकेट, १० क्युओजीएलआर आर्मी क्रिकेट क्लव, नयाँ युवा क्रिकेट क्लव र क्यूजी सिग्नल क्रिकेटले सहभागिता जनाएका थिए ।



मौसमले अति साथ दिएको यो प्रतियोगीता रेडिंग क्रिकेट क्लवमा भएको थियो । फोर व्हीलर लिमिटेड कम्पनी सहित विभिन्न व्यक्ति तथा व्यापारीबाट प्रायोजन भएको यो प्रतियोगिताको प्रथम पुरस्कार ५५० पाउण्ड र ट्रफी पोखरेली मंच यूकेका संस्थापक अध्यक्ष चन्द्र बहादुर पुन र उनकी बहिनी श्रीमती राजमाया पुनले आफ्नो ममतामयी आमा स्व श्रीमती भद्रशिला पुनको स्मृतिमा प्रायोजन गरेका थिए, जुन गत वर्षकै च्याम्पीयन टिम नयाँ युवा क्रिकेट क्लवले हात पार्न सफल भएकाे छ । दोश्रो पुरस्कार पिपल मोर्गेज सर्भिसेजले ३०० पाउण्ड नगद प्रायोजन गरेको थियो र यो क्यूजी सिग्नलले आफ्नो पोल्टामा पार्न सफल भयो । मेन अफ द टुर्नामेण्ट भने नयामँ युवा क्रिकेट ल्कवका टिम क्याप्टेन सुवाश गुरुङले हात पारे ।