मार्थाको मायामा अल्झिएको नन्दिताको सम्झौता

एकोहोरो हेर्दै त्यसै रमाउने उमेरकी आफ्नी सानी छोरीलाई खेलाउँदै मार्था गुनगुनाउन थाल्छिन्, ‘…मै छोरी सुन्दरी, कसरी भरुँ पानी…!’, आफ्नी विदेशी श्रीमतीको अबोधपन र लोग्नेको भाषा सिक्न खोज्ने उनको प्रयत्नलाई प्राकृतिक रूपमा स्वीकार्दै ४५ वर्षीय राघव क्षेत्री त्यसै मुस्कुराउँछन् र समयको रङ्गीन कलेबरमा अनायसै हात परेको जीवनको नयाँ अध्यायलाई समेट्न थाल्छन् । जीवनमा समयहरू एकप्रकारले महत्त्वपूर्ण रहेको अनुभूतिका साथ हरेक पलको उत्तम उपयोग गर्ने आफ्नो प्रण रहेको बताउँदा त्यसमाथि सहमत हुनलाई आग्रह गरेको भावमा सोफामा लम्पसारिएका राघवलाई हेर्छिन् मार्था । ‘मेरो विचारमा वास्तवमा हात पर्ने अवधि नै जीवन हो’ भन्दै बिस्तारै मायाले प्याट्ट मार्थाको गोह्रो गालामा हिर्काउँछन्, लन्डनस्थित क्याम्डेनटाउको आफ्नो अपार्टमेन्टमा । त्यसको सात हजार तीन सय चालीस किलोमिटर पर, काठमाडौंस्थित जोरपाटीमा रहेको एक बुटिक सपभित्र प्लास्टिकको झोलामा बिहानको खाजा बोकेर १७ वर्षीया करिश्मा पस्दै गर्दा ४३ वर्षीया आमा नन्दिता क्षेत्री नजिकैको टेबुललाई खाली पार्न थाल्छिन् । सानै उमेरमा पनि दोब्बर जिम्मेवारी लिँदै आएकी छोरीको परिपक्वताले कहिलेकाहीँ आमा नन्दितालाई निक्कै नै उदासीन बनाउँछ । छोरीको उमेरजन्य पनलाई मास्न बाध्य हुनुपरेकोमा एक अभिभावकको रूपमा आफू असफल भएकी नन्दिता बारम्बार सोच्ने गर्छिन्, ‘..सम्झौताको अर्को नाम नै जीवन रहेछ,’ आईडीडी कलमा केही पल संवेदनशील बनिन् नन्दिता ।
माथिका दुई परिस्थिति या परिवेशलाई जोड्ने समयको सुरुवात एघार वर्षअगाडि अर्थात् १ जुन, २००१ काठमाडौंबाट भएको हो । राघव क्षेत्री लाजिम्पाटस्थित एक निजी कम्पनीमा सधैंजसो सखारै पुगेका थिए । जीवनमा वैवाहिक जीवन एक आमनेपाली परिवारसरह नै सामान्य रूपमा चलेको थियो । राम्रो योग्यता र कडा परिश्रमले पनि राघवको परिवारलाई सन्तोषजनक किसिमले चलाउन नसकेको उनले तब पनि सकारेकै थिए तर नेपालका लागि आम हुँदाहुँदै पनि केही गर्ने धोको उनको मनबाट हराएको थिएन । स्वर्गीय बाबुको जस्तो नाम छोडेर जान नसक्ने लागे तापनि विभिन्न प्रकारले आफ्नो नामलाई चम्काउनतर्फ उनी अग्रसर भइरहेका थिए । जीवनमा सफलतालाई बुझ्ने र त्यसरी परिभाषित गर्ने आआफ्नै शैली हुन्छ भन्ने बुझ्दै राघव आफ्नो प्रकारको परिभाषाले आफ्नो जीवन र्सार्थक बनाउने प्रयत्नमा लाग्दै गर्दा सो दिन अर्थात् २००१ को जुन १ तारिख, एउटा कम्पनको रूपमा उनीलगायत तत्कालीन हजारौँ होनहार युवाको हृदयमा परेको थियो । पत्याउनै नसकिने गरेर तत्कालीन राजपरिवारको समूल परिवारको हत्या भएको थियो । काठमाडौं नै शून्यप्रायः भएको थियो भने मुलुकका लागि केही गरी बाबुको जस्तै नाम चम्काउने प्रण गरेका राघवको विश्वास एक्कासि छिन्नभिन्न हुन पुगेको थियो ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालगायत उनको सरकारले तत्कालीन समयको अत्यधिक कालो उक्त दिन र उक्त घटनालाई रहस्यपूर्ण घटनाको रूपमा संसारमा चिनाउनबाहेक केही गर्न सकेनन् । परापूर्वको कोतपर्वको व्याख्या आउँदा, सो बेलाका आमजनता कति निरीह रहेछन् भन्ने सोच्ने एकप्रकारले विकसित भइसकेको मान्ने आमजनता पनि कालान्तरमा उस्तै तोपपर्वताकाका जनतासरह भेडा मात्रै लाग्ने गरी आगामी दरसन्तानका मनमा पर्ने इतिहासको रूपमा आबद्ध भएका थिए सो घडीपर्यन्त । राघव भन्छन् मलाई लाग्थ्यो, अब केही हुन्छ, तहल्का मच्चिन्छ, देश छिन्नभिन्न हुन्छ, माओवादीको राज यत्रतत्र हुन्छ, त्योभन्दा अगाडि जनता स्वःस्फुर्त रूपमा आन्दोलित हुन्छन् । तर, सामान्य प्रतिक्रियाबाहेक केही भएन अनि त्यो केही विशेष होला कि भन्दै नभइरहेको अवस्था यत्तिको कष्टकर थियो कि मैले र मेरा धेरै जमातका साथीहरूले सजिलै पचाउन सकेनौँ अनि जीवनलाई नयाँ किसिमले सोँच्न थाल्यौँ ।’ खासगरी आफूलगायत आफ्नो एक समूल परिवारलाई आफू स्वयम्ले धान्नेहरूलाई हरेक अप्रासङ्गिक, अप्राकृतिक अनि अप्रत्यासित अवस्थाले एक्कासि पोल्ने गर्दछ । मुलुक तत्कालीन अवस्थामा माओवादी विद्रोहले गर्दा आततायी थियो । माओवादी अनि नेपाली सेनाको सङ्क्रमणमा युवामन अस्वस्थ बन्दै गएको त्यो त्यस्तो अवस्था थियो, जब शान्त जीवन अनि सम्पन्न जीवनको वहानामा हजारौँ युवाहरू मुलुकबाट निकास खोज्दै गरेका थिए । केही गर्ने प्रण गरेकै पलमा पनि पारिवारिक सहमतिमा पारिवारिक खुसीको लागि सयौँ युवाहरूसँगै २००१ कै सो घटनाउप्रान्तको अर्को महिना अर्थात् जुलाईमा राघव अमेरिका भासिन बाध्य भए । राघव सम्झन्छन्, ‘भविष्य तत्कालका लागि उज्ज्वल लाग्ने देखेको भए तापनि एक अति नै अनौठो पीडा यस्तरी छातीभित्र उब्जिन थालेको थियो कि परिवारलाई सदाकै लागि गुमाउँदै छु, उक्त यात्रा नै अन्तिम यात्रा हो कि जस्तो लागेको थियो ।’ जन्मेको ठाउँ, सपनाहरूका महलहरू सजाएको ठाउँ, माया गरेको र माया लगाएको ठाउँ, ठोक्कर लागेको अनि आफै आँसु पुछेको ठाउँ र साथमा आफ्नो परिवार अनि सानी छोरीलाई त्यो बेला छोडेर जाँदा, जुन बेला मुलुक जे पनि बन्न सक्थ्यो, कसको मन अस्थीर रहँदैनथ्यो र ?
‘सानी छोरीको भविष्यको चिन्ता, सन्त्रस्त तत्कालीन आफ्नो पारिवारिक यथार्थ, अनि आकाशजसरी दिनप्रतिदिन चुलिएको लाग्ने महँगी र अति नै अस्तव्यस्त तथा आक्रामक लाग्ने तत्कालीन सामाजिक परिवेशलाई पचाउन सकिएन, हुनसक्छ, त्यही परिवेशले हामीलाई खाएको होस् । हामी परिवारलाई केवल आफ्नै रहरको सानो पुलिन्दामा आफ्नै सामर्थ्यले बलियोसँग बाँध्न चाहन्थ्यौँ, त्यसैको प्रभावमा त्यसरी हामी आफ्नो वैवाहिक जीवन बिताउने प्रण सजिलैसँग गरेका थियौँ । जिन्दगीलाई सम्झौताको जलपले सिँगार्नैपर्ने रहेछ, मैले त्यो घडी बुझेको हुँ ।’ नन्दिता बितेका सम्झनाहरू खोतल्ने क्रममा निक्कै नै साहित्यिक बनेकी उनको गम्भीर तर वजनदार स्वरबाट सजिलै थाहा लाग्दथ्यो । आफ्नो पाटाको जीवनलाई रङ्गीन सम्झनाशील आँखाले हेरेर उनी सायद बताउँदै थिइन् । बितेको डेढ दशकले तत्कालीन नेपाललाई के र कस्तो स्वरूपमा लगेको छ, त्यो सर्वविदितै छ, तथापि आम तर योग्य नेपाली मानसिकतामा उक्त डेढ दशकले कस्तो प्रभाव पारेको छ त भन्ने सन्दर्भलाई हेर्ने सानो प्रयत्नस्वरूप यो रिपोर्ट तयार गरिँदै छ ।

राष्ट्रियताको भावना तब प्रबल लाग्दछ, जब अन्य मुलुकमा आप्रवासी भई रहन बाध्य भइन्छ भनेर धेरै विद्वान्हरूले बारम्बार लेखेका, बोलेका छन् तर विदेशी मुलुक, खासगरी सम्पन्न विदेशी मुलुकमा रहने अनि भास्सिने प्रयत्नमा मानिस त्यही राष्ट्रियताको भावलाई तीर्ण अनि जीर्ण बनाउँछन् । नेपालमा राजा वीरेन्द्र परिवारको सर्वनास भएपछि समस्त राजनीतिमा पनि त्यसकै हाराहारीमा सर्वत्र विनासहरूको सुरुवात हुन थाल्यो । माओवादीहरूको दबाब तीव्र हुन थाल्यो भने मूलधारका मानिएका पार्टीहरूबीच राष्ट्रिय साझा महत्त्वमा पनि एकमत हुन सकेन । तर, त्यही अवस्थामा नै मूल राष्ट्रिय धारमा माओवादीको प्रवेश भयो । नेपालको तत्कालीन वा नेपालको आधारभूत व्यवस्थालाई कुनै पनि आधारमा नमान्ने माओवादी त्यही व्यवस्थाभित्र, त्यही व्यवस्थालाई आधार बनाएर आए पनि समस्त राजनीतिमा त्यसले अन्योल परिवेशबाहेक केही दिन सकेन । त्यसकै प्रतिफल हो तत्कालीन राजा ज्ञानेन्द्रले देशको बागडोर आफ्नो हातमा लिन सक्षम भए । तर, त्यसरी सजिलै शक्ति आफ्नो हातमा लिए तापनि गलत सहयोगीहरूको साथले गर्दा आफैं नै मूलधारबाट बाहिरिन उनी बाध्य भए । यसरी नेपाल विविध शैली र प्रयोगबाट परिवर्तित भइरहने अवस्थामा भने परिवारलगायत पारिवारिक जीवनमा स्थायित्व खोज्ने लाखौँ जनता विक्षिप्त भइरहेका थिए । त्यही बेलामा नेपालबाट विदेशमा लाखौँ नेपाली भ्ास्सिएका थिए । माओवादी कहरको क्रूर पञ्जाबाट फुत्केर आएको बहाना बनाउँदै नेपालीका भव्य व्यक्तित्वहरू विदेशी मुलुकमा शरणार्थी भएर भविष्यको जोहो गर्न लाग्दै गर्दा भने त्यही सङ्क्रमित नेपालमा त्यही सङ्क्रमित हालतमा रहँदै जिजीविषा धान्न आ-आफ्नो ल्याकतले मूलधारका नेपाली चलायमान भएका थिए । नन्दिताले पनि सानो बुटिक सप सुरु गरिन् । मानिस परिवेश र परिस्थितिजन्य बन्दो रहेछ, त्यस्तै नन्दिता आफू पनि बनेको बताउँछिन् । कहिलेकाहीँ हप्ताको एक या दुई दिन बडो डर र मुस्किलले दोकान खोले तापनि व्यापार शून्य भई गहनाहरू बेची भाडा तिर्नुपरेको बताउने नन्दिता जे र जस्तो अवस्था भए पनि त्यसको भरपूर सदुपयोग गर्न पछि नपरेकी बताउँछिन् । उनी सानी छोरीलाई बोकेर लाहुरेको घरघरमा पुगी तिनका श्रीमती तथा छोरीहरूलाई शृङ्गार गर्ने काम केही लामै समय गरेको घटना निकै रोचकताका साथ भन्छिन्- ‘कसैलाई समस्या र अभाव फालाफाल त कसैलाई साधन र स्रोत नै फालाफाल ! सानी छोरीका मनभरि जमेर रहेका रहरहरूलाई आमा भएको नाताले सजिलै बुझ्न सके तापनि विवश भई अबुझ बन्नुजस्तो पीडादायी, लोग्ने साथमा नहुँदाको अवस्था पनि लागेन ।’ राघवले अमेरिकामा दिनरात कम पारिश्रमिकमा पनि काम गरी अलिअलि पैसा नेपाल पठाउन थालेपछि भने नन्दितालाई ठूलै राहत मिलेको थियो । छोरीलाई राम्रो स्कुलमा त पढाउन सकिने भइयो भन्ने सन्तुष्टि उनलाई तत्काल महत्त्वपूर्ण लागेको थियो । यता नेपाली चाडपर्वहरू परिवारको सम्झनामा भक्कानिएर रक्सीमय बनाई बिताउनुबाहेक अन्य विकल्प आफूले देख्दै नदेखेको राघव भावुक हुँदै बताउँछन् भने आफ्नो लोग्नेको आवाजमा आएको परिवर्तन र भाषालाई बुझ्न कोसिस गर्दा नसकेपछि मार्था झर्किँदै सोध्छिन्, ‘तपाईंहरूले मेरोबारेमा कुरा गरेको त होइन ? अङ्ग्रेजीमा बोल्नुहोस्, तपाईंहरू दुइटै ।’ राघव त्यसपछि हाँसिदिन्छन् । लाग्थ्यो, हाँसो पनि खुलेर नआउने गरेर उनी सान्दर्भिक भइसकेका रहेछन् आफ्नो बितेका पलहरूको सम्झनासँग ।

गत २००९-१० मा नेपाल राष्ट्र बैंकले निकालेको एक तथ्याङ्कअनुसार विदेशबाट लगभग सर्त्ताईस लाख सङ्ख्यामा रहेका नेपालीले आफ्ना परिवारहरूलाई २३१.७३ विलियन नेपाली रुपैयाँ पठाएका थिए र त्यो क्रम झन् बढ्दो छ । गत साल अर्थमन्त्री भरतमोहन अधिकारीले ३८४.९० विलियन नेपाली रुपैयाँको बजेट सार्वजनिक गरेका थिए । नेपाल सरकारले करबापत असुल गरेको रकमले उक्त बजेटमा ६३ प्रतिशतले आफ्नो स्थान ओगटेको थियो भनिएको छ । विदेशी अनुदान १८ प्रतिशत, विदेशी ऋण ६ प्रतिशतसहित आन्तरिक स्रोतबाट उठाइएको ऋण १० प्रतिशत पनि सोहीभित्र परेको भनिएको सो बजेटमा रेमिट्यान्सको भाग कति थियो भन्ने सहजै अनुमान लगाउन सकिन्छ । अहिलेको परिवेशमा कैयन विदेशी मुलुकमा श्रमशक्तिको रूपमा आफ्ना नागरिक उपलब्ध गराउने मुलुकमध्ये नेपाल मुख्य देशको लहरमा पर्न आएको छ । तब पनि नेपालमा सो विषयमा सही र प्रभावकारी नीतिको तर्जुमा गरिएको छैन । दूतावासको अभावमा अनि सशक्त नियमको अभावमा लाखौँ नेपाली विदेशीभूमिमा शोषित भइरहेको अवस्था एकातिर छ भने इन्टेलेक्च्युअल प्रपर्टर्ीीानेर अवसर प्रदान गरिनुपर्ने ल्याकतमा रहेका अन्य हजारौँ-हजार विदेशी भूमिमा हराउन पुगेका छन् । त्यसले नेपालको समूल विकासमा कत्तिको नोक्सानी गरेको छ भनेर गम्भीरताका साथ खोजबिन पनि गरिएको छैन । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अन्तर्राष्ट्रिय बजारमा उपलब्ध गराइने नेपाली श्रमहरूको सही व्यवस्थापन हुनुपर्ने र त्यसलाई आधिकारिक रूपमा सरकारीस्तरबाट अवलोकन गर्नुपर्ने आवश्यकतालाई आफ्नो सरकारले गम्भीरताका साथ लिएको बताए तापनि आजसम्म सोसम्बन्धी कुनै ठोस कदम चालिएको छैन । कुनै पनि होनहार नेपालीको मुलुकबाट हुने पलायनतालाई सङ्ख्याको हिसाबबाट हेरिनुहुँदैन । त्यसले र त्यसको लहरले कालान्तरमा पर्ने राष्ट्रिय नोक्सानीको महत्त्वउपर सरकार सम्वेदनशील हुनुपर्छ । राघवजस्ता योग्य व्यक्तित्वको पलायन सङ्क्रामक हालतमा रहेको मुलुकबाट हुँदै जाने हो भने, ६०१ जनाजस्ता बाहुबल या यस्तैयस्तै अनेक तिकडम जालझेल र कुटिलताका आधारमा सदनमा भित्रिएका नीतिनिर्माताहरूबाट बन्ने नीतिनियमहरूले देशको भविष्य कस्तो देखिएला भनेर आरामैसँग कल्पना गर्न सकिन्छ । त्यही ६०१ जनाको लहरबाट उठेर मन्त्रीसम्म बनाइएका व्यक्तिबाट आठ सयवटा जिल्लाको परिकल्पना गरिनु पनि उही ६०१ उब्जनीको आधार हो भन्न सकिन्छ ।

