बरु धावा नै बोल न प्रिय ! के व्यङ्ग्य मात्र कस्छौ, व्यर्थै ?
म हारेर लम्पसारिएको होइन, पराजिताको पराधीन मानसभित्र लम्पसार पर्नुको नियति भोगेको पनि होइन, त्यो त समय हो, जसको चक्रपथमा नियतिले यो पल्ट फड्का खाएको छ । भावनाको अकर्मण्यताले गर्दा विवश म निराधर पल्टेको हुँला, सायद ! बरु घोँची नै हाल न भालाले प्रिय ! के तिखार्छौ आँखाहरु व्यर्थै ?
मैले गुमाएँ नै के जो तिमीले पायौ ? तिमीले गुमाएका थियौ नै के, जो मैले पाएथें ? तिमीले पिएकै पानीबाटै अँजुली मैले भरेको हुँ, तिमीले लिएकै श्वाससँगै हावामा म पनि बाँचेको हुँ, के पोख्छौ रिस हिजोको, मायाको रत्ति नै बाँकी नराखी ? विभेदको खाडल गहिरिँदै छ झन्-झन्, बरु धकेली हाल न एकै लप्कामा प्रिय ! के छेउ-छेउमै अड्काई राख्छौ व्यर्थै ?
मसिनो झोँक्का हावामा पनि पातहरु थर्थरिन्छन् भने, के दोष थोप्छौ हावालाई -पातकै मजबुतिमा नहाँसी ? जमीन नै मुनि त झुक्न सकिँदैन नि ! उही झुक्नुको पराकाष्ठाको परिणाम हो ‘वर्तमान’ । कतै ‘चित्’ पल्टेका छन् भने कतै छन् ‘पट्’ ‘दम्भ’ घटेको छ कतै, ‘अहँकार’ बढेको छ कतै, के अचेट्छौ कुनातिर मलाई ? पूनरावृतिको ‘अँश’ अचेट्दै छैनौ र सँगै ? बरु अट्टहास लगाऊ न जोड-जोडले प्रिय ! के खिसी-खिसी मुस्कुराइरहन्छौ व्यर्थै ?
बरु धावा नै बोल न प्रिय ! के व्यङ्ग्य मात्र कस्छौ, व्यर्थै ?
बरु धावा नै बोल न प्रिय ! -नीर खड्का
Reviewed by Hum Gurung
on
August 16, 2017
Rating: 5