जनार्दन शर्मा, देवत्वकरण र यथार्थ - मिलन शर्मा - Kathmandu Daily

जनार्दन शर्मा, देवत्वकरण र यथार्थ - मिलन शर्मा

Janardan Sharma

नेपालमा अहिले चर्चामा छन् पूर्व उर्जामन्त्री तथा वहालवाला गृह मन्त्री जनार्दन शर्मा। माओवादी केन्द्रकाे तर्फबाट जनार्दन शमाले उर्जा मन्त्रालय समालेपछि निक्कै परिवर्तनहरू गरे । सबैभन्दा पहिला चमत्कारिक रुपमा कार्यकारी अधिकृत परिवर्तन गरे । एमाले समर्थित मुकेश काफ्लेलार्इ हटाएर चौंथो बारियातामा रहेका कुलमान घिसिङलार्इ कार्यकारी अधिकृत बनाए । घिसिङले पनि चमत्कार गरेजसरी नै लोडसेडिङ अन्त्य गरिदिए । आम नेपालीको समस्याको रुपमा रहेको लोडसेडिङ अन्त्य हुनाले सारा नेपालीले कुलमानको जय जयकार गरे । जनार्दन शर्मा पनि एकाएक सफल उर्जामन्त्रीको रुपमा चित्रित भए । सबैले राम्रो भनेको मान्छे राम्रै हुन्छ भन्ने कल्पना सबैलाई हुन्छ त्यो स्वभाविक हाे । तिनै राम्रा मान्छेले पनि नराम्रो गर्छन् भन्ने पत्याउन अवश्य पनि गाह्राे हुन्छ तर बिडम्बना तिनै राम्रा मान्छेले देशलाई सँधै दुख्ने उपहार छोडेर गएका छन् बुढी गण्डकी आयोजना ।

पहिला जनार्दन शर्माकाे बारेमा जानाैं । जनार्दन शर्मा 'प्रभाकर'को जन्म बि.सं.२०२० साल बैशाख १२ गते रुकुम जिल्लामा भएको हो । जनार्दन शर्माका एक छोरी र एक छोरा छन् । शर्मा बिसं २०६४ सालको संविधानसभा निर्वाचनमा रुकुम जिल्लाको क्षेत्र नम्वर २ बाट ३० हजार २ सय ७० मतप्राप्त गरी विजयी भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका प्रेमप्रकाश ओली क्षेत्रीले ९ हजार २ सय ५० मत प्राप्त गरेका थिए । तेश्रो स्थानमा रहेका नेकपा (एमाले)का शेरबहादुर के.सीले ६ हजार ६८ मत प्राप्त गरेकाथिए । राजनीतिशास्त्र र नेपालीमा स्नातक शर्मा बिसं २०३६ सालको विद्यार्थी आन्दोलनमार्फत् राजनीतिमा सक्रिय भएका हुन् । शर्मा बिसं २०५५ सालमा तत्कालिन नेकपा (माओवादी)को केन्द्रीय सदस्य बन्नेका हुन् । सशस्त्र बिद्रोह कालमा माओवादी लडाकूका डेपुटी कमाण्डर भएर काम गरेका शर्मा एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वासपात्र हुन् । उनी यसअघि शान्ति तथा पुर्ननिमाण मन्त्री भएर काम गरिसकेकाछन् ।

बूढीगण्डकी आयोजनालाई इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्ट्र्याक्ट विथ फाइनान्स (इपीसीएफ) मोडलमा निर्माण गर्ने गरी चिनियाँ कम्पनीलाई जिम्मा दिने निर्णय गरिएको उर्जामन्त्री जनार्दन शर्माले जनाएका छन् । नक्कली भ्याट बलि बनाई राजश्व ठगेर कारबाहीमा परेको चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेडलाई जलाशययुक्त बूढी गण्डकी जलविद्युत आयोजना बिनाप्रतिस्पर्धा दिने निर्णय गरिएको हो । चिलिमे हाइड्रोपावर कम्पनीअन्तर्गत स्यान्जेन विद्युत आयोजनाले गेजुवासँगको ठेक्का सम्झौता रद्द गरी उसलाई कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई लेखेको थियो ।

सबैतिर हाइ हाइ कमाइरहेको बेला खुसुक्क यस्तो राष्ट्रघाती निर्णय गरेर शर्मा उर्जा मन्त्रालय छोडेर गए । के.पी ओली सरकारले निर्णय गरिसकेको र आफूले सही मात्र गरेको जनाउने शर्मालार्इ कुन कानूनले सही गर्न वाध्य बनायो भने बताउन चाहँदैनन् । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले औपचारिक रुपमै सो निर्णयको बिरोध गर्नु भएको छ । नयाँ शक्ति पार्टीमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउँदै उहाँले यो कदमको बिरोध जनाउनु भएको हो । यस्तै विज्ञहरुले पनि बूढीगण्डकी जलविद्युत आयोजना चीनको गेजुवा कम्पनीलाई दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।

विज्ञहरुले नेपालको जलविद्युत क्षेत्रको विकासमा निजी क्षेत्रलाई उत्साही बनाउन र वैदेशिक लगानी भित्रयाउन समेत बूढीगण्डकी जलविद्युत आयोजना नेपाल आफैले बनाउनुपर्ने पनि स्पष्ट पारेका छन् । सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै जलस्रोतविद् लक्ष्मीप्रसाद देवकोटाले बूढीगण्डकी जलविद्युत आयोजना नेपाल आफैले सम्पन्न गर्नुपर्ने स्पष्ट पारेका छन् । उनले बूढीगण्डकी जलविद्युत आयोजना नेपाल सरकार आफैले सम्पन्न गरे वैदेशिक लगानीसमेत भित्रयाउन वातावरण बन्ने पनि उल्लेख गरे । जलस्रोतविद् देवकोटाले जलविद्युत आयोजनामा लगानी गर्न नेपालमा धेरै वित्तीय संस्थाहरु समक्ष रहेको पनि स्मरण गराए । अर्का जलस्रोतविद् रामहरि कोइरालाले बूढीगण्डकी जलविद्युत आयोजना विदेशी कम्पनीलाई दिने सरकारको निर्णय मुलुकको हितमा नरहेको बताए । उनले सरकार र निजी क्षेत्रको लगानीमा सो आयोजना निर्माणको काम सम्पन्न गर्न सकिने पनि स्पष्ट पारे ।

यता माओबादी कार्यकर्ता शर्माको देवत्वकरण गर्न पछि परेका छैनन् । हाल गृह मन्त्री रहेका शर्माबाट चमत्कार हुन्छ भन्ने दिवा सपना फेसबुकको भित्ताभरि पोतेर शर्मा नै आधुनिक नेपालको खम्बा हुन् भन्ने भ्रम छर्न माओबादी कार्यकर्ता तलिन देखिन्छन् । राम्रो काम सबै जनार्दनले गरेको भनेर भ्रम छरिएको छ ।

चाहँदा यो आयोजना सम्पूर्ण रुपमा आफ्नै लगानीमा निर्माण गर्न सक्छ । सरकारले पनि पेट्रोलिएम पदार्थमा रु.पांच कर लगाउने निर्णय गरेको थियो जसबाट उठेको राजस्व सोही आयोजना निर्माणको लागि प्रयोग हुने जनाइएको थियो । बीबीसीले सोही प्रश्न गर्दा उर्जा मंत्री शर्मा तेत्रो लगानी देशले गर्न नसक्ने र देशलार्इ घाटा नरहेको भन्दै पन्छिएका थिए | शर्माले उर्जा मन्त्रालयले मार्केट टेस्ट गर्दा हामी आफै तेत्रो लगानी जुटाउन सक्दैनौ भन्ने रिपोर्ट आएकोले गेजुवालाई दिने निर्णय गरिएको बताए । आम जनताको ठूलो आशा हुँदाहुँदै पनि नेपाल आफैले बनाउन सक्दैन भन्नु शर्माको बोलीपछाडि केही न केही रहस्य लुकेको हुनुपर्छ ।

शर्मा पनि जुनै जोगी आएपनि कानै चिरेको भन्ने उखान चरितार्थ गर्ने पात्र मात्र हुन् । हामी नेपाली होमा हो मिलाउँदै जादाँ सत्य र यथार्थलाई पनि बिर्सने गर्छौं । गुण र दोषको आधारमा मान्छेलाई मापन गर्दै जानुपर्छ । जनार्दन शर्माको देवत्वकरण होइन, उनलाई पनि यथार्थको धरातलमा उभ्याएर देश र जनताप्रति उत्तरदायी बनाउनु पर्छ ।