गैरआवासीय नेपाली संघको चुनाव, बेलायतमा नेपाली राजनीति शुरु
सेन्टर लण्डन जाने दुई तले रातो बसमा चढ्दै गरेको बखत, माथिल्लो तलाको पछाडिको सिटमा बस्ने दुई अधवैंशे नेपालीमध्ये एक, फोनमा कसैसँग बोल्दै गरेको स्पष्टै सुनिन्थ्यो — '....त्यो पाल्पाली ढाकाको टाई र स्टकोट मेरोलागि, .... अँ.... अँ..तेरो साइजको र तेरो भाउज्यूको लागि ढाकाको पछ्यौरा पठा' ...ए झण्डै भुल्या' ....त्यो अस्ति नै भन्याथेँ नी ?....खुकुरी, .....हो, तर चाँदीले बेह्रेर माछापुछ्रे हिमालको चिन्ह जडेको चाहिँ पठा', कर्द पनि भा'को है ? जति परे नी म व्यओर्छु ।.....हुन्छ, हुन्छ ।....'
ढाकाको टोपी नै लगाएर लण्डन कुद्ने बसमा यात्रा गर्दै, पोखरामा आफ्नो काकाको छोरोसँग बोल्दै गरेको, रमाइलो देखिने विनोद गुरुङ थिए । फोन राखेपछि भन्दै थिए — '......नेपाली देखिएर बेलायताँ बस्ने मज्जा नै बेग्लै खाले हुँदो र'छ गोराका अगाडि ।....' अनि यहाँको नागरिकता लिइसकेर यहाँकै रैथाने भइसकेको अवस्थामा देश अनुसारको भेष गर्नुपर्ने होइन र हामीले? भन्ने प्रश्नमा उनी केही गम्भीर भएका थिए — '.....हेर्नुस्, याँ केही हाम्रा मान्छेहरुमा त्यो भरम छ । हाम्लाई बेलायतले गोरा बनाउनका लागि हाम्लाई पखालेर, टल्का'र अनि रंग्या’र याँको नागरिकता दिया' होइनन्, कानूनले हाम्लाई हाम्रो संस्कृति अनि परम्परासितै राख्या' हुन् र आफ्नो परम्परा अनि संस्कृति मान्छेको आफ्नो अस्तित्व हो । यो काम गर्ने थलो हो, याँको कानून र व्यवस्थाहरुमा रम्दै हाम्लाई आफ्नो अस्तित्वको सम्मान गर्न पाउने अधिकार हुन्छ, बुझ्या' हो ?..'
नेपालबाट विदेशमा निर्यात हुने बस्तुहरुमा, मुख्यतः हस्तकलाहरु रहेका छन् । तर खासगरी यो दशकमा आएर हस्तकलाका साथै नेपाली संस्कृति अनि रैथानेपन दर्शाउने बस्तुहरु, जातजातिका पारम्परिक भेषभुषाहरु, पारम्परिक जातीय परिचायक समेटेका साँस्कृतिक समानहरु आदि ज्यादा निर्यात भएका छन् र निःसन्देह ती सामानहरुका क्रेताहरुका ठूलो संख्या भनेका, विदेशमा बस्ने नेपाली अर्थात् गैरआवासीय नेपालीहरु हुन् । संसारको कुनै पनि देशमा बस्ने कुनै पनि नेपालीका घरमा गएर हेर्ने हो भने नेपाली झण्डा, नेपाली ढाका टोपी, पछ्यौरा आदि पक्कै नै देख्न सकिने छ । एक तथ्यांकअनुसार, अमेरिकामा नेपाली झण्डाको खपत अन्य हस्तकला तथा गार्मेन्ट भन्दा ज्यादा भएको थियो केहीअघि । यस्तैमा, नेपाली साँस्कृतिकताको प्रवर्धनहेतु अहिले विस्तारै गैरआवासीय योजनाअनुसार हरेक देशमा एउटा नेपाल हाउस खोलिँदै छ, जहाँ सम्पूर्ण रुपमा नेपाल अटाइने छ, तथापि विभिन्न देशहरुमा नेपाली जातजातिका आआफ्ना कम्युनिटिहलहरु पनि थुप्रिँदै छन् । त्यसैले त्यस्ता सामानहरुको खपत निर्यातमा बढोत्तरी पक्कै नै हुनेछ ।
यही अक्टोबरमा, काठमाण्डौमा हरेक दुई वर्षमा एकपटक हुने गैरआवासीय नेपालीहरुको भेला हुन गइरहेको छ र त्यसैको पूर्वाद्धमा, विभिन्न संसारका ७५ देशहरुमा राष्ट्रिय समन्वय परिषदको चुनाव हुँदै छ । एकातिर कन्द्रीय कार्य समितिको चुनावको चुनावी चहलपहल बढ्दैछ भने त्यसैको हाराहारीकै चहलपहल, राष्ट्रिय स्तरमा ती ७५ देशहरुमा चल्दै छ । वर्मा गए कर्मसँगै भनेजस्तै गैर राजनीति, गैर जातीय, वर्गीय अनि क्षेत्रीय स्वरुपको संगठन मानिने गैरआवासीय नेपाली संघ अहिले सर्वत्र त्यही अवस्थाले रङ्गिएको चाहिँ छ र त्यही क्रमले राष्ट्रिय स्तरमा आआफ्नो गुट वा प्यानलहरु तयार पार्ने क्रमहरु केन्द्रीय तहबाटै चल्दैछन् र त्यहीअनुरुप राष्ट्रिय स्तरमा चुनावी गति लिइरहेकाछन् ।
सन् २००३ को अगस्ट महिनामा, लण्डनमा एक सानो भेलाले पारित गरेर त्यही सालको अक्टोबरमा गैरआवासीय नेपाली संघको पहिलो अधिवेशन काठमाण्डौमा भएको थियो । 'एक पटकको नेपाली, सँधैको नेपाली' भन्ने नाराका साथ शुरु भएको गैरआवासीय नेपाली संघमा अहिले ७५ मुलुकहरुमा बस्ने झण्डै ६० लाख नेपालीमूलका वा नेपालीहरु बसोबास गर्दछन् । निश्चय नै यो उल्लेखनीय संख्या हो । दुई वर्षभन्दा ज्यादा अवधि विदेशमा बिताउनेहरु गैरआवासीय नेपालीहरु हुन् भन्ने परिभाषाले गैरआवासीय नेपालीको परिचयको स्पष्टता व्यक्त्याउन सकेको छैन । नेपाली पासपोर्ट र नागरिकता बोक्ने नेपालीहरु सँधै नै वहालवाला नेपाली नागरिकहरु हुन्, तिनलाई १८२ दिन विदेशमा बस्दैमा गैरआवासीय नेपाली संघभित्रका नेपाली हुनु जरुरी हुँदैन,मान्य सो अर्थमा हुँदैन । तिनको अस्तित्वको रक्षा वा जिम्मा ती देशमा भएका नेपाली दूतावासले लिएका हुन्छन् वा प्रतिनिधित्व गरेका हुन्छन् । विदेशी नागरिकता लिएकाहरु नै वास्तवमा '...एक पटकको नेपाली, सँधैको नेपाली' भन्ने नाराभित्र पर्दछन् । हुन त, आश्विन १, २०७२ गैरआवासीय नेपालीलाई नयाँ संविधानले नागरिकता दिने व्यवस्था गरेको छ, जसबाट बताइएअनुसार माथि उल्लेख गरिएको झण्डै ६० लाख मध्येबाट करीव ४०,००० विदेशी पासपोर्टबाहकहरु मात्रै लाभान्वित हुनेछन् । संविधानमा उल्लेख गरिएको छ... "विदेशी मुलुकको नागरिकता प्राप्त गरेको सार्क बाहेकमा बसोबास गरेको साविकमा वंशजको वा जन्मको आधारमा निज, निजको बाबु, आमा, बाजे, बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानुनबमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिनेछ," । तर यसलाई कार्यान्वयन गर्ने कानून नबनिसकेकोले यो अहिले कागजमा नै सीमित छ । र अहिले राजनीतिक अधिकार नदिएकोमा बेलायतको लिभरपुलमा एक प्राज्ञहरुको टोलीले असन्तोष व्यक्त गरी त्यसलाई सच्याइनको लागि, बेलायतका लागि नेपाली राजदूतमार्फत् नेपाल सरकारलाई आग्रह गरेका छन् ।
सन् २००५ बाट बेलायतमा गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषदको विधिवत स्थापना भएको थियो । लगभग ३०,००० नेपाली आप्रवासीहरुको जनसंख्या भएको सो बखत नेपालीहरुको ठूलो संस्थाको रुपमा बेलायतमा यती नामक संस्था रहेको थियो । त्यसपछि बेलायतमा नेपालीहरुको स्थायी बसोबास गर्ने क्रम बढ्दै गयो र अहिले अनुमानित रुपमा डेढ लाखभन्दा बढी रहेको बताइएको छ । एक जमानामा सबैको साझाजस्तै बन्दै गएको यती संस्था निक्कै नै साँघुरिएको छ भने जातीय संस्थाहरु एकपछि अर्को बन्दै र विशाल अनि शक्तिशाली हुँदै गएका छन् । तर त्यसैमा सबैको साझा सँस्था बन्न सक्ने अवस्थामा रहेको गैरआवासीय नेपाली संघको बेलायत शाखामा व्यापक रुपमा राजनीति व्याप्त रहेको छ भने पछिल्लो समयमा आएर यसभित्र जातीयताले प्राथमिकता पाएको छ । अहिलेसम्म गैरआवासीय नेपाली संघ, बेलायतमा विशेषगरी मानिएको अवधि भनेको सन् २००९ देखि २०११ को हो । सूर्य गुरुङको नेतृत्वको त्यो कार्य समितिले उल्लेखनीय काम खासै नगरे तापनि समाजमा सो संस्था प्रतिको गरिमालाई उच्च तथा भरपर्दो भने पारेको थियो । त्यसपछि कूल आचार्यको दुई वर्ष अनि एक एक वर्ष गरी योगेन क्षेत्री र महेन्दै कँडेलको अवधिले समाजमा संस्थाप्रति निक्कै नै नकारात्मक प्रभाव पारेको थियो ।
एनआरएनएलाई पैसावालाहरुको संस्था भनिन्छ । सयौं कार्यक्रमहरुको आयोजना गर्नुका साथै नेपालमा परेको आपतविपतदेखि आआफ्ना देशहरुमा बसोबास गर्ने नेपाली समुदायहरुमा पर्ने आपतविपदहरुमा प्रमुख रुपमा आर्थिक सहयोग गर्ने संस्थामा धेरैजसो रुपमा एनआरएनए नै पर्दछ, केही अपवादवाहेक । हुन पनि, नेपालमा आर्थिक विकासमा लगानी भित्र्याउने भनेर मुख्य रुपले लाग्ने यस संस्थाबाट यसरी आशा गरिनु र यसलाई त्यसरी परिभाषित गर्नु अति होइन, सान्दर्भिक नै हो । र त्यही आशयले यस संस्थामा लाग्नेहरुले संस्थाबाट कमाउने होइन, गुमाउने हुन्छ । आफ्नो समयको साथसाथै प्रशस्तै पैसाहरुको लगानी गर्ने यसै संस्थाको बेलायत शाखामा मुख्य रुपमा आचार्य र उनीपछि एकएक वर्षका लागि नेतृत्व लिने क्षेत्री अनि कँडेललाई बेलायतमा पैसा खाएको, पदको दुरुपयोग गरेको जस्तो आरोपहरु सार्वजनिक हलमा सबैको सामुन्ने लगाइयो । आफूले आफ्नो पक्षका लागि आफैले सदस्य शुल्क तिरी सदस्यहरु बटुल्ने तिनलाई पैसा खाएको आरोप लगाइनु हास्यास्पद थियो । त्यतिखेर मेरो यूके डट कमले आफ्नो सम्पादकीयमा '...अब, बेलायतमा व्यक्तिले होइन, संस्थाले वा संस्थाको प्रतिनिधिले गैरआवासीय नेपाली संघको बेलायत शाखाको नेतृत्व लिनुपर्दछ, जसको शुरुवात तमूहरुले गर्नुपर्दछ...' भनी लेखेको थियो । सोही किसिमले नै तदनुरुप सन् २०१५ देखि २०१७ सम्मको लागि तमू धिं यूकेका भूपू अध्यक्ष मूक्षेत्र गुरुङ्गको नेतृत्वमा एक विशाल आकारको गैरआवासीय नेपाली संघ, बेलायतको कार्यकारी समिति तयार भएको थियो, जसले यही सेप्टेम्बर ०९ तारिखदेखि आफ्ना पदाभार सुम्पँदै छ ।
आगामी कार्य समितिको नेतृत्व गर्नका लागि गत दुई कार्यकालदेखि उपाध्यक्ष भइरहेका वर्तमान उपाध्यक्ष हिराधन राई, एक कार्यकाल उपाध्यक्ष भइसकेका वर्तमान अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य कृष्ण तिमिल्सिना र अर्का वर्तमान उपाध्यक्ष योगकुमार फगामी तथा आफ्नो फेशबुक वालमा उमेदबारी दिने घोषणा गरेका अर्का उपाध्यक्ष डासुराम पाण्डेबीच नेतृत्वको लागि चुनावी चहलपहल शुरु भइसकेका छन् । हिराधन राईलाई योपालि राई तथा लिम्बूहरुको व्यापक सहयोग मिल्ने पक्का छ र उनी किरात राई यायोक्खाका संस्थापक सदस्य हुन् । विगत चार वर्षदेखि लगातार रुपमा गैरआवासीय नेपाली संघ, बेलायतको उपाध्यक्ष बनेका हिराधन राईसँग यस संस्थासँगको व्यापक अनुभव एकातिर छ भने अर्कोतिर एनआरएनए अभियानलगायत रोजिहिरा फाउन्डेशन नामक च्यारिटिमा सक्रिय रुपमा समाज सेवामा लागेका छन् । बेलायतस्थित नेपाली समाजको हितको लागि आफूले वर्तमान कार्यसमितिको लागि सम्झौता गरेको र योपालि पनि गर्न सक्ने तर समाजले उनको योगदानको कदर गर्दै आफूलाई जिताउनेमा आफू विश्वस्त भएको बताउने राईले एक औपचारिक कार्यक्रम गरी अध्यक्ष पदको प्रत्यासीको लागि घोषणा गरिसकेका छन् ।
हिराधन राई, अध्यक्ष (प्रत्यासी)
गैर आवासीय नेपाली संघ यूके, (अधिवेसन), ९ सेप्टेम्वर २०१७
प्रतिवद्धता–पत्र
'मेरो प्रतिवद्धता विविधतामा एकता एनआरएन यूकेमा मेरो प्रतिवद्धता'
घरदेशबाट परदेशमा आइ विभिन्न पेशा व्यवसायमा संलग्न नेपालीको भावना, चाहना र सपनाको प्रतिबिम्बित साझा संस्था हो– गैरआवासीय नेपाली संघ (एनआरएन) । यो एनआरएनले आफ्नो अभियान सञ्चालन गरेको १३ वर्षभन्दा बढी भइसक्यो भने हामी अहिले ७ औं महाधिवेशनको संघारमा छौं । विविध धर्म, संस्कृति, भाषा, पेशा, व्यवसाय, भूगोल र वर्गको अनेकतामा एकता एनआरएनको पहिचान हो ।
मातृभूमिको सेवा गर्ने पवित्र उद्देश्यले नेपालीको हकहितको आवाजलाई संस्थागत गर्दै बुलन्द पार्ने यो महान् अभियानमा संलग्न मेरा आदरणीय अग्रज गुरुहरुको कार्यशैलीबाट धेरै कुरा सिक्ने र पे्ररणा लिने सुनौलो अवसर प्राप्त भयो । त्यस्तै आफू पनि विभिन्न कोणबाट यस यात्रामा अनवरत खटिने मौका पाएकै छु । एनआरएनको यो ओरोह अवरोहमा धेरै कुरा सिक्न पाएं । ती भोगाइ र सुझावलाई एउटा मार्ग निर्देशक मान्दै, एनआरएनलाई सबै नेपालीको साझा र आत्मीय संस्था बनाउनका लागि अब नयां शिराबाट आगाडि बढ्नु पर्छ भन्ने मेरो निष्कर्ष हो । एनआरएनको उद्देश्यलाई प्राथमिकतामा राख्दै अब हुने एनआरएनए यूकेको अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै प्रतिवद्धता सार्वजनिक गर्न चाहन्छु । मेरो घोषणा पत्रको मर्म नै हरेक नेपालीबीच एकता हो । हामीमाझ विविधतामा एकता छ, जसलाई म एकताको संकेत भनेर सम्बोधन गर्न चाहन्छु ।
एकता - आफ्नो विदेश यात्रा भनौं वा आफ्नो जीवनको थालनी भनेको गोर्खा पल्टनबाट भएको हो । त्यसैले मेरो जीवन गोर्खा आन्दोलन वा गोर्खासंगको मुद्दाबाट अलग हुनु भनेको मेरो जीवन नै नहुनु सरह ठान्दछु । तसर्थ, गोर्खाको जीत नै मेरो जीत हो । गोर्खाको समस्या समाधान नहुञ्जेल आफू गोखासंग सम्बन्धित कुनै पनि मुद्दामा सहकार्य गरी अगाडि बढ्न तयार छु ।
नेपाल हाउस यूके निर्माण गर्ने कार्यलाई विशेष प्राथमिकता दिंदै लाप्राक वस्ती निर्माण र एनआरएन हाउस निर्माण अभियानमा विशेष सहयोग गर्नेछु ।
राष्ट्रियता - 'एक पटकको नेपाली सधैंको नेपाली' भन्ने हाम्रो मूल भावना समेटिएको 'गैरआवासीय नेपाली नागरिकता' राजनीतिबाहेक सबै अधिकार पाउने नागरिकता हामीले संविधानबाट प्राप्त गर्न सफल भएका छौं । तर अहिलेको अवस्थामा प्राप्त उपलब्धि कार्यान्वयन गराउनु उत्तिकै चुनौतिपूर्ण छ । उपलब्धिको रक्षा गर्दै बांकी अधिकारका लागि एनआरएनले विशेष भूमिका खेल्नुपर्ने छ । यस अभियानलाई बिशेष रुपमा अगाडी बढाउने योजनाको थालनी गर्नेछु ।
मेरो कार्यकालमा यी कुरा हुनेछ :
– एनआरएनका सदस्यलाई कार्ड बनाइ विभिन्न पसल, रेस्टुरेन्ट तथा अन्य व्यवसायिक छुटका लागि गरिएको अभियानलाई प्राथमिकताको साथ अगाडि बढाउने छु ।
– एनआरएन कोषको व्यवस्था गरी पञ्जीकृत सदस्यलाई सम्भव भएसम्म आपतकालमा सहयोगको व्यवस्था गर्ने /p>
– स्वास्थ्य, शिक्षा, ट्राफिक ब्यवस्थापन, कन्स्ट्रक्सन, फुड तथा अन्य थुप्रै विधाका ज्ञाताको सुझाव र सल्लाहअनुसार दूताबाससंग समन्वय गरी नेपालमा विशेष स्किल ट्रान्सफर कार्यक्रम सञ्चालनमा ल्याउने ।
– बेलायतमा रहेका बौद्धिकवर्गलाई एनआरएन यूकेप्रति आकर्षण गर्ने कार्यक्रम ल्याउने छु । उहांहरुको सुझाव सल्लाहले एनआरएनलाई अगाडि बढाउने वातावरण सिर्जना गर्नेछु ।
– बेलायतस्थित सबै संघ संस्थाहरुसंग समन्वय गरेर कार्य गर्ने ब्यवस्थाको रचनात्मक ढांचा तयार गरि सबै संस्थाको अपनत्व एनआरएनमा दिलाउने गरि संस्थाको विकास गर्न विशेष भूमिका खेल्ने छु ।
- बेलायतबासी नेपालीसंग एनआरएनए यूके भन्ने विशेष कार्यक्रमको थालनी गरि एनआरएनए यूकेमा धेरै भन्दा धेरै नेपालीहरुको सहभागिता गराई सबै नेपालीहरुमा मेरो एन आर एन हो भन्ने आत्मीयताको बिकास गर्न विशेष भूमिका खेल्ने छु ।
– एनआरएनए यूकेको सम्पूर्ण गतिविधिलाई जनमानसमा पारदर्शी ढंगले बाहिर ल्याउने छु
– नेपाली बालबालिकाको आवश्यकता र रुचीलाई ध्यानमा राखी अभिभावकले आफ्नो बालबालिकाका लागि नेपाली भाषा कक्षा, संगीत र खेलकुदका कार्यक्रम चलाउंदै आउनु भएको छ । यसलाई अझ व्यवस्थित गर्नको लागि एनआरएनए यूकेले विशेष च्यारिटी कार्यक्रम तथा यूके सरकारको स्थानीय सरकारसंग समन्वय गरी आवश्यक रकमको व्यवस्था गर्नुको साथै, नेपाली साना बालबालिकालाई राष्ट्रिय गीतमा भनिएजस्तै एउटै फुलको मालामा गांस्ने प्रयत्न गर्नेछु ।
– युवा भनेको भनेको भोलिको हाम्रो भविष्य निर्धारक हुन् । हरेक युवाको प्रगति र विकाससंग हाम्रो समाज जोडिएको छ । मेरो कार्यकालमा अब नेपाली युवाहरुलाई लक्षित गरि विशेष प्रकारको युवा सशक्तिकरण तथा सिपमुलक अभियानको थालनी गरिनेछ । त्यस्ता अभियान भन्नाले युवाहरुलाई लक्षित तालिम, गोष्ठी तथा सेमिनार आयोजना गरि युवाहरुलाई माथिल्लो तहको काम तथा व्यापारमा प्रत्ष्क्ष फाइदा हुने खालको सरल र अर्थपूर्ण कार्यक्रम रहनेछ ।
एनआरएन समूदायको नेपालमा लगानी भित्रयाउन तथा सुरक्षित लगानीको ग्यारेन्टी गर्न पहल गर्नेछु ।
– गैरआवासीय नेपाली संघको काठमाण्डौंस्थित एनआरएन भवन, लाप्राक, शंखमुल लगायतका परियोजनालाई मूर्तरुप दिन आवश्य पहल गर्ने छु ।
– भूतपूर्व गोर्खा लगायत गैरआवासीय नेपालीहरुको पूर्णअधिकार सहितको नागरिकताको निरन्तरताको लागि विशेष अभियान सञ्चालन गर्ने छु ।
जीवनी : नेपालको खोटाङ बासपानीका समाजसेवी मणिप्रसाद राईको साईंला छोराको रुपमा मेरो जन्म भएको हो । गाउंकै विद्यालयबाट वि.सं. २०४२ सालमा एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्न धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना भएं । तत्कालीन परिवेश र परम्पराअनुसार वि.सं. २०४४ (सन् १९८७) सालमा म ब्रिटिश आर्मीमा भर्ना भएं । हङकङमा नै सैन्य तालिम सकें, १८ वर्षसम्म सैनिक सेवाका क्रममा मैले विभिन्न तालिमसंगै राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय पदकसमेत प्राप्त गरें ।
ब्रिटिश आर्मीमा सेवारत रहंदा १० वर्ष पिटिआइका रुपमा काम गरें । त्यस अवधिमा अफगानिस्तानमा संयुक्तराष्ट्र संघीय अन्तर्रा्ष्ट्रिय शान्ति सेनाको प्रशिक्षकका रुपमा सेवा गरें । संयुक्त राष्ट्रसंघीय पदक तथा फरक राष्ट्रका सुरक्षाकर्मीसंगको अनुभवलाई अन्य क्षेत्रमा समेत मैले सदुपयोग गरिरहेको छु । १८ वर्ष लामो सैनिक सेवामा रहंदा तेक्वान्दो मुख्य प्रशिक्षकका रुपमा समेत मैले धेरै समय बिताएं । प्रशस्त प्रशिक्षार्थी उत्पादन गरेर मैले जीवनमा अनुशासन र नेतृत्व विकासमा धेरै अध्ययन र अनुभव हासिल गरेको छु ।
अध्ययनलाई जीवनको अभिन्न अंग सम्झी हालै मैले Anglia Ruskin University बाट व्यवस्थापन विषयमा स्नातक उपाधि लिएको छु । यसैगरी सैनिक सेवालाई रोजीरोटीको रुपमा मात्रै होइन, एउटा अवसरको रुपमा लिंदै हङकङ, ब्रुनाई, बेलिज, सियरालियोन, कोसोभो, साइप्रस, जर्मनी, केन्या, अमेरिका, क्यानाडा, फोकल्याण्ड, मेसोडोनिया, इराक, अफगानिस्तान, स्पेन, फ्रान्स, अष्ट्रेलियालगायत दुई दर्जनभन्दा बढि राष्ट्रको भ्रमण गरिसकेको छु /p>
जीवनमा धेरै आरोह–अवरोह भोग्दै अगाडी बढ्ने क्रममा मैले सैनिक सेवाबाट अवकाशपश्चात जीवनलाई चार क्षेत्रमा केन्द्रित गरेर अगाडि बढाइरहेको छु ।
१. व्यवसायिक जीवन : व्यवसायिक रुपमा प्राप्त गर्ने सफलता र आत्मविश्वासले मानिसले भावी कार्य दिशा तय गर्दछ । त्यसैलाई मध्यनजर राखेर मैले पनि विभिन्न पेशा व्यवसायमा हात हालें । सैनिक सेवाबाट अवकाशपश्चात बेलायतमै व्यवसाय सुरु गर्दा ब्रिटिशसंग प्रतिस्पर्धा गर्दै नाइट क्लब, बार, रेस्टुरेन्ट व्यवसाय हुंदै 'इ एन्ड डब्लु' कम्पनीको प्रवन्ध निर्देशकको रुपमा काम गरें । गोर्खा सेभिङ फाइनान्सको संस्थापक शेयर होल्डर हुं । त्यहींबाट मैले आर्थिक क्षेत्रमा व्यावसायिक जीवन अगाडी बढाएं । व्यक्तिगत प्रगतिसंगै जन्मभूमिप्रति पनि आफ्नो उत्तरदायित्व छ भन्ने कुरालाई महशुस गरेर नेपालमा कृषि, पशुपालन, हाउजिङ्गलगायतका क्षेत्रमा समेत लगानी गरेको छु ।
२. सामाजिक जीवन : समाजसेवी बुवाको पथलाई पछ्याउंदै सुरुदेखि नै म पनि सामाजिक क्षेत्रमा सक्रिय थिएं र अहिले पनि त्यत्तिकै सक्रिय छु । बेलायत तथा जन्मभूमि नेपालमा समेत सेवा पुरयाउने प्रयास जारी छ । स्थानीय ग्रेटर रसमोर कम्युनिटीको संस्थापक खेलकुद प्रबन्धकको रुपमा मेरो संलग्नता थियो । अहिले समाजसेवाको आयामलाई अझ व्यापक बनाउन लागिरहेको छु ।
किरांत राई यायोक्खा बेलायतको संस्थापक सदस्य, खोटाङ समाज यूके, मिशन टु हेल्प नेपाललगायतका संस्थामा सक्रिय रहंदा नेपालमा भूकम्प गएका बेला तत्कालै बेलायतमा नेपाल भूकम्प आपतकालीन अभियानको संयोजक भइ सहयोग रकम तथा सामाग्री संकलन गर्दै नेपाल पठाउने काम गरें ।
झन्डै दश हजार केजी सहयोग सामाग्री कार्गोमार्फत नेपाल पठाउनुका साथै स्थलगत रुपमै रोजिहिरा फाउन्डेशनकी सचिव श्रीमती रोजिना प्रधान राईसमेतको संलग्नतामा सिन्धुपाल्चोकको दुर्गम भेग इचोक क्षेत्रमा पुगी सामाग्रीहरु वितरण गरें । चेञ्ज फर हेल्थ नेपालसंग मिलेर संयुक्त रुपमा स्वास्थ्य सेवा शिविर सञ्चालन, राहत वितरण, एनआरएनए यूके, रोजिहिरा फाउन्डेशन, नेपाल भूकम्प आपतकालीन अभियान यूकेमा रहेर नेतृत्व गरेको क्षण सम्झदा आफूलाई गौरव लाग्छ ।
बुवा मणिप्रसाद राईले बासपानी माध्यामिक विद्यालयलाई निःशुल्क प्रदान गर्नुभएको जग्गामा हाल स्कुल सञ्चालन भएको छ । सर्वसाधारणलाई शिक्षाप्रति अझ आकर्षित गर्न रोजिहिरा फाउन्डेशन स्थापना गरी गरिब असहायहरुको लागि स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको छु । बालबालिकालाई आवश्यक सहयोग, मुस्कान समाज सेवामार्फत बाढीपीडितलाई सहयोग रकम उपलब्ध गराएको छु ।
'मिशन टु हेल्प नेपाल' तथा नर्भिक अस्पतालसंग सहकार्य गरी खोटाङको बाक्सिला क्षेत्रका विभिन्न १५ गाबिसका जनताका स्वास्थ्य जांच एवं उपचारका लागि बृहत स्वास्थ्य शिविरको सञ्चालन कार्यको संयोजन समेत गरेको थिएं । नेपालमा भएको बागमती सरसफाई अभियानमा पनि स्थलगत रुपमै सक्रिय सहभागी भएं ।
नेपाल र ब्रिटेनबीच भएको मैत्रीपूर्ण क्रिकेट खेलको भब्य रुपमा सफल पर्न एनआरएनको तर्फबाट संयोजकको भूमिका निभाएं । खोटाङ सेवा समाज यूकेको पहल र मेरो संलग्नतामा जिल्लामा ७ वटा एम्बुलेन्स पुरयाउन सफल भएका छौं ।
३. गोर्खा अभियान : गोर्खा हुनु आफैंमा गौरवानुभूति छ नै, साथै आफैं गोर्खा हुनुको नाताले पनि गोर्खाको हकहितका लागि सक्रिय रहनु मेरो जिम्मेवारी हो । तसर्थ सन् १९९४ देखि १९९८ सम्म तत्कालीन गेसो अभियानमा सक्रिय भइ गोर्खाको हकहितको लागि लागि रहें । तत्पश्चात सन् २००२ देखि बिजीडब्लुएसको संस्थापक सदस्यको रुपमा सुरुदेखि नै सक्रिय छु । अहिले बेलायतमा गोर्खाको हकहितको लागि भएको सत्याग्रह अभियानमा समेत सक्रिय सहभागिता जनाइरहेकै छु ।
४. एनआरएन अभियान : एनआरएनको स्थापनाकालदेखि सदस्य छु । त्यही बेलादेखि एनआरएन अभियानमा सक्रिय सहभागी बन्दै वर्तमान एनआरएन यूके कार्यसमितिको उपसभापति छु । गोर्खाको जायज मागमा एनआरएनलाई सहभागी गराउने कुरामा मेरो सदैब सक्रिय भूमिका रहयो भन्ने ठान्छु । एकपटकको नेपाली सधैंको नेपाली भन्ने मूल नारालाई आत्मा साथ गर्दै नागरिकताको मुद्दालाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो विशेष भूमिका रहनेछ ।
******************
यस्तै अघिल्लो कार्यकालमा उपाध्यक्ष रहेका बेलायती नेपाली समाजमा निकै सहयोगी, तथा समाजसेवी वर्तमान आईसीसी सदस्य कृष्ण प्रसाद तिमिल्सिनाले समाजले आफ्नो काम तथा समाज अनि संस्थाप्रतिको लगनलाई ध्यानमा दिएर गैरआवासीय नेपाली संघ, बेलायतको अर्को कार्यकारी चरणको नेतृत्व गर्ने मौका दिनेमा ढुक्क भएको बताउँदछन् । उनले अगस्टमा एक औपचारिक कार्यक्रम गरी आफू सार्वजनिक हुने बताउँदछन् ।
मेरा आदरणीय जन, प्रियजन, सहकर्मी, शुभेच्छुक:
प्रवास बसाइँको यी १७ बर्षले धेरै सिकायो, धेरै दियो र धेरै भोगियो पनि ! समय बलबान छ । अनेकन आरोह-अबरोह पार गर्दै जिन्दगीको यो घुम्तीमा आई पुगेको छु । थाहा छैन, आगामी बाटो कति सहज छ कि अप्ठ्यारा र पनि कर्तब्यपरायणतामा किन्चित बिचलित न भै यो बाटो तय गर्नु छ ! मलाई लाग्छ - बेलायत बसाईको यस अबधिमा धेरैसंग बाक्लो उठबस गरियो (कतिलाई तितोपिरो पनि बोलियो होला, कतिलाई सहयोग गर्न सकिएन पनि होला तर मैले मेरो आफ्नो बिबेकले भ्याएसम्म कसैको कुभलो चिताईन, यसमा मलाई गर्ब छ ।
परदेशीको मर्म र सम्बृद्धिको लागी बिगत १४ बर्षदेखि हाम्रा अग्रजहरुको सुझबुझपूर्ण सोच र नेतृत्वमा एन आर एन आज यो अवस्थामा छ । हामी सबैले गर्बका साथ भन्न सक्ने भएका छौ म यस गौरबशाली संस्थाको सदस्य हुं भनेर ! भलै गर्न पर्ने थुप्रै कामहरु अझै बांकी छन् । अप्रतक्षरुपमा शुरुवाती दिनदेखि नै यसमा लागिएता पनि जिम्मेवारीको हिसाबले बिगत ९ बर्षदेखि परोक्षरुपमा नेतृत्वदायी भूमिकामा रहें । संधै मेलमिलाप र सहकार्यको लागि मैले कहिल्यै मुल नेतृत्वको दाबी गरिन । संधै मिलाउनकै लागि आफूलाई सहज निकासको प्रमुख पात्र बनाएँ तर अब समय आएछ, धेरै मित्रजन, सहकर्मी, अग्रजहको समेत रायअनुसार म बर्ष २०१७/१९ को लागि NRNA UK को अध्यक्ष पदको दाबेदारी गरेको छु ! मलाई योग्य र उचित सम्झे मतदान गर्नु होला यदि म काबिल रहेनछु भन्ने लागे पनि यस संस्थालाई दीगो र भरपर्दो बनाउन तपाईको सदस्यता अपरिहार्य छ । कृपया सदस्य बन्नको लागि www.nrna.org.np मा गै मान्य हुने फोटो ID, Proof of address र एक प्रति फोटो सहित August 14, 2017 भित्र सदस्यता बनिदिनु हुन सादर अनुरोध गर्दछु !
हार्दिक धन्यबाद सहित,
बिनित
कृष्ण प्रसाद तिमिल्सिना (NRN UK 2017-2019)
अध्यक्ष पदका प्रत्यासी
******************
फेशबुकको आफ्नो वालमा अध्यक्षको लागि आफ्नो उमेदबारीलाई सार्वजनिक गर्ने वर्तमान उपाध्यक्ष योग कुमार फगामीले केहीपछि औपचारिक रुपमा घोषणा गर्ने बताएका छन् । मगर सँग तथा मोनाबाट प्रशस्तै सहयोग मिल्ने फगामीले तीव्र गतिमा चुनावको प्रचारप्रसार थालिसकेका छन् । फगामीको बारेमा फेशबुकमा ओम बजांगे रोका मगरले लेखेका छन् :
१ : एनआरएन युकेको पूर्ब महासचिव र बर्तमान उपाध्यक्ष, २ : मगर संघ युकेको पूर्ब महासचिव, वर्तमान बरिष्ठ उपाध्यक्ष, ३ : म्याग्दी प्रवासी समाज यूके (मोना) को पूर्व अध्यक्ष, ४ : बेजिंगस्टोक नेपाली समाजको पूर्ब अध्यक्ष, ५ : Intake 85 को बर्तमान अध्यक्ष र ६ : म्याग्दी बेगखोला समाज यूकेको बर्तमान अध्यक्षलगायत अन्य धेरै संगठनहरुमा पनि उहाँको सहभागिता छ । हालसम्म उहाँको अगुवाइ र संयोजकमा थुप्रै राम्रा कामहरू भएका छन् । अहिले सबैकुरा लेखेर साध्य छैन तर आफ्नो समाज र गाउँको लागि गर्नुभएको योगदान नलेखी रहन सक्दैन, जुन यसप्रकार छन् :
१ : म्याग्दी बेगखोला गाबिसमा मोटर बाटो खन्नको लागि उहाँकै संयोजकत्वमा झन्दै १ करोड २० लाख रुपैयाँ रकम संकलन भएको थियो र मोटरको सडक पनि खनी सकिएको । २ : उहाँकै अध्यक्षतामा म्याग्दी प्रबासी समाज यूके (MONA) ले म्याग्दी जिल्लालाई ३ वटा एम्बुलेन्स हस्तान्तरण । ३ : उहाँकै संयोजकत्वमा म्याग्दी प्रबासी समाज यूके (MONA) ले Free WiFi को लागि झण्डै ३० लाख रुपैयाँ संकलन गरेको । ४ : मगर समाज यूकेको भवन खरिद गर्नको लागि निबर्तमान मगर संघको अध्यक्ष श्री दुत पुनको अध्यक्ष्यतामा भवन खरिदको लागि यौटा संयोजक टिम छुट्टाएको थियो, त्यसभित्र रहेर उहाको पनि उल्लेखनीय भूमिका रहेको ।
उनको फेशबुकमा उनले आफूलाई भोट दिन यसरी आग्रह गरेका छन् ।
यहाँहरु सबैलाई धन्यबाद,
तपाइँहरुको सहयोगले यहाँसम्म उभिएको अवस्था हो र अब एक पटक आआफ्नो ठाउँदेखि के गर्न सक्नुहुन्छ, प्रयास गरिदिनु होला र तपाइँहरुलाई पैचो लगाएको रहेछु भने पैचो तिर्ने समय होला, होइन भने पैचो लगाउनुस्, म अवस्य तिर्ने छु र कम्तीमा पनि प्रचार प्रसारको जरुरी हो र आआफ्नो फेसबुकमा वा साथीलाई यही समाचार दिनु हुन् अनुरोध गर्दछु र यो मेरो अन्तिम प्रयास रहने छ र बिगतमा पनि यहाँहरुले सहयोग नगरेको होइन तर परिस्थितिबस यो मेरो अन्तिम अनुरोध हुने छ र भविस्यमा यूकेको यो माहोलमा मभन्दा सक्षम व्यक्ति हामीले उत्पादन गर्न सक्ने छौं ।
******************
अर्का आफ्नो फेशबुक तथा दैनिक नेपालको अनलाइन एडिसनमार्फत् सार्वजनिक भएका उपाध्यक्ष डासुराम पाण्डेको चर्चा बाहिर खासगरी चुनाव प्रचारप्रसारको लागि सुनिएको छैन ।
- प्रकाश के.सी.'विगत लामो समयदेखि एनआरएन यूकेको अभियानमा निरन्तर लागिरहेको छु । र, अहिले वर्तमान कार्यसमितिको उपाध्यक्षको रुपमा पनि रहेका कारण मेरो उम्मेदवारी स्वभाविक हो,' अध्यक्षका उम्मेदवार पाण्डेले दैनिक नेपालसँग भने - 'मेरा अग्रज, साथीभाई र समाजका अन्य व्यक्तित्वहरुले मलाई जुन खाले सहयोग, सद्भाव र समर्थन जनाउँदै आउनुभएको छ, उहाँहरुकै सल्लाह र सुझाव अनुसार मेलै अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो ।' उनले थपे ('एनआरएन यूकेको नेतृत्व लिँदै कतिपय नमुनायोग्य योजना र कार्यक्रमहरु पूरा गर्ने अठोट पनि लिएको छु । एनआरएन यूकेलाई संसारका अन्य देशको तुलनामा नमुनायोग्य बनाउन सकिन्छ ।'
******************
पहिलेको जस्तो गरी आफै पैसा हालेर सदस्यता बटुल्ने परिपाटी योपालिदेखि बन्द हुने ठूलो विश्वास राखिएको छ। त्यसको पहिलो कारणचाहिँ सदस्य शुल्क १० पाउण्डबाट बढाएर २५ पाउण्ड बनाइनु हो भने अर्कोचाहिँ अनलाइनपद्धतिबाट सदस्यता वितरण गरिने चलन चलाइनु हो भन्ने मानिएको छ । यद्यपि, गत साल उही १० पाउण्ड शुल्क पनि बढी भयो भनी कार्यसमितिमै सो शुल्क रकम घटाउनका लागि भनिएको थियो तर योपालि, फैशला नबदलिने गरी १० पाउण्डबाट २५ पाउण्ड दर कायम सर्वसहमतिबाट पारित गरिएको बताइएको छ, जसमध्ये १० पाउण्डचाहिँ एनआरएनए भवनको लागि जाने कुरा व्यक्त्याइएको छ । तर पच्चीस पाउण्ड तिरेर बेलायतमा केही देखिएका अनि हामी नै एनआरएनएको अधिकारी हौं भन्नेहरुका लागि खेल खेलिने माध्यम बन्न नचाहनेहरुको समूहहरु तयार हुँदै गरेको पनि जानकारीमा आएका छन् ।
जे र जस्तो कारण तथा योग्यता देखाए पनि योपालि जातीय संस्थाको सहयोगबिना अध्यक्ष पदमा विजय कोही हुन सक्लान् जस्तो देखिएको छैन र यदि जिते पनि तिनलाई अन्यले सजिलै आफ्नो कार्यकारी चरण पार गर्न दिने छैनन् भन्ने घटनाहरुको भुक्तभोगी हुनेहरु सबैले सजिलै अनुमान लगाउन सक्दछन् । गैरआवासीय नेपाली संघ भनेको महासँघ होइन, तर अघोषित रुपमा यस संस्थाले महासंघको अवधारणाको स्वरुप लिँदै गएको बुझिन थालिएको छ । व्यक्तिले नेतृत्व गर्दा समाजमा जातिगत विषमताको अवस्थिति देखिन थालेको थियो तर यो पालिको कार्यसममितिमा त्यस्तो खालका विषमताहरु नदेखिनु वा नसुनिनुमा या त जातिगत आडडेढ लाख नेपाली रहेको यूकेमा संस्थाको नेतृत्वको लागि भोट हाल्नको लागि निम्नतम संख्याको किटानी हुनु जरुरी छ । वर्तमान कार्यसमिति (जसलाई अर्को सफल कार्यकालको रुपमा लिन थालिएको छ) मा साधारण सदस्य संख्या ४,००० रहेको छ । डेढ लाखबाट जम्मा चार हजारले चुन्ने कार्यसमितिले सबैलाई प्रतिनिधित्व गरेको आफैमा अनौठोलाग्दो हुन्छ ।
एनआरएनको परिचयपत्र बोक्नेहरुले कतिपय पसलहरु, रेष्टुरेन्टहरुमा छुट पाउने क्रमको शुरुवात भइसकेको छ र त्यसलाई अझ प्रभावकारी बनाउने वचनवद्धता प्रत्यासी हिराधन राई राखेको छन् । जबसम्म आम मनमा एनआरएनएको महत्व तथा परिचयले ल्याउने लाभांशको बारेमा सूचित गर्न सकिँदैन, जबसम्म यस संस्थामा लाग्नु भनेको सामाजिक प्रतिष्ठा मात्रै हो भन्ने भान हुन्छ, अनि जबसम्म पैसावालाहरु मात्र होइन, पैसा नहुने तर विद्धता हासिल गर्नेहरुले नेतृत्व दिन खोज्दैनन्, तब संस्थामा सदस्यहरु स्वस्फूर्त रुपमा बढ्ने क्रम आउला भनेर सोँच्न , खासगरी बेलायती परिवेशले दिँदैन । मान्छेहरुलाई खुशी पार्नकै लागि भनेजस्तै गरी पदहरुको सिर्जना गरिनु, कामको भन्दा प्रचारको ज्यादा भोकाहरु संस्थामा भरिँदै जानुले पनि संस्थाप्रति आम मनमा उदासीनता पलाउनु सान्दर्भिक हुन्छ । तथापि हरेक आप्रवासी नेपालीहरु सदस्यता लिएर गैरआवासीय नेपाली संघको साधारण सदस्य नबने तापनि नेपालको कानूनी आधारमा विधिवत गैरआवासीय नेपाली नागरिक हुन्, र हरेक गैरआवासीय नेपालीहरुका मनमा पोखराका विनोद गुरुङ्गको मनमा जस्तै नेपालीपन, आफ्नोपन, आफ्नो अस्तित्वसरह झाङ्गिदो छ ।