बढी शुल्क असुल्ने मेडिकल कलेजलाई तत्काल फौजदारी मुद्दा लगाऊ : गोविन्द केसी – Kathmandu Daily

बढी शुल्क असुल्ने मेडिकल कलेजलाई तत्काल फौजदारी मुद्दा लगाऊ : गोविन्द केसी

डा. गोविन्द केसीले एमबीबीएस अध्ययनरत विद्यार्थीबाट बढी शुल्क लिने मेडिकल कलेज सञ्चालकलाई फौजदारी मुद्दा चलाउन माग गरेका छन् ।

बिहीबार विज्ञप्ति जारी गरी उनले कलेजहरुले विद्यार्थीलाई ब्ल्याकमेलिङ गरेर ठगी गरिरहेको भन्दै सञ्चालकलाई फौजदारी मुद्दा चलाउन माग गरेका हुन् । उनले विद्यार्थीसँग लिइएको अतिरिक्त शुल्क तत्काल ब्याजसहित फिर्ता गर्न र पठनपाठन सञ्चालन गर्न पनि माग गरेका छन् ।

मेडिकल कलेजहरुले दिनदहाडै ठगी गरेर कानुनी राज्यको उपहास गर्दा पनि कानुनी राज्यको रक्षा गर्ने जिम्मा लिएकाहरु त्यही ठगीको रकममा भागवण्डा गरेर रमाइरहेको केसीले आरोप लगाएका छन् । ‘यो ब्रम्हलुट बन्द गर्नका लागि पहिले न्यायिक जाँचबुझ आयोगले दोषी ठहर गरेर बर्खास्तीको सिफारिश गरेका त्रिवि पदाधिकारीलाई तत्काल बर्खास्त गरी कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउँछौं’ उनले भनेका छन् ।

केसीले काठमाडौं विश्वविद्यालयका पदाधिकारीलाई तत्काल बर्खास्त गरी त्रिवि र केयूमा योग्य र इमान्दार व्यक्ति नियुक्त गर्न माग गरेका छन् । केयूले सरकारले तोकेकोभन्दा बढी शुल्क निर्धारित गर्दै मेडिकल कलेजको ठगीलाई वैधता दिएको उनले आरोप लगाए ।

उनले अगाडि भने ‘मेडिकल माफिया’हरुले चलाइरहेको अर्बौंको ठगी धन्दा तत्काल रोकी ठग र अपराधीहरुलाई तत्काल कारवाही तथा त्यस्तो अपराधबाट लाभ लिएर अपराधीहरुको संरक्षण गर्ने पदाधिकारीहरुलाई बर्खास्तीसमेतका कारवाही नगरिएमा कुनै पनि बेला सत्याग्रहसहित आन्दोलनका कार्यक्रम शुरु गर्ने जानकारी गराउँछौं ।’

 

तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

FOLLOW US ON