नेत्रविक्रम चन्द विप्लव समूह हतियार भेटिए गोली हान्नू : प्रहरीलाई सरकारको निर्देशन – Kathmandu Daily

नेत्रविक्रम चन्द विप्लव समूह हतियार भेटिए गोली हान्नू : प्रहरीलाई सरकारको निर्देशन

राजधानी काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरु आज पनि विप्लवमाथि लगाइएको प्रतिबन्धमाथि केन्द्रित छन् । खासगरी नेकपामा देखिएको विवाद र प्रहरीको सुरक्षा रणनीतिबारे दैनिक पत्रिकाहरुले लेखेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अवकाशको मुखमा मुद्दा नहेर्न न्यायाधीशलाई दिएको निर्देशनलाई पनि पत्रिकाहरुले ‘कभरेज’ गरेका छन् । त्यस्तै, कांग्रेस विवाद, यौनधन्दालगायतका विषयलाई आजका पत्रिकाहरुले स्थान दिएका छन् ।

प्रतिबन्धले तरंग

नेत्रविक्रम चन्द विप्लव समूहको गतिविधिलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति सत्तारुढ दल नेकपाका नेताहरुले जनाएको असन्तुष्टिबारे कान्तिपुरले मुख्य समाचार बनाएको छ ।

निर्णय गर्नुअघि सरकारले पार्टीमा छलफल नगरेको भन्दै नेकपा नेताहरुले मुखै फोरेर त्यसको स्वामित्व लिन नसक्ने बताउन थालेका छन् ।

सरकारले विप्लवको गतिविधि नियन्त्रण गर्ने निर्णय गरेको भोलिपल्ट अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवासमा सचिवालयमा रहेका माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र झलनाथ खनालको भेला भएको र प्रतिबन्धबारे समीक्षा गरेको समाचारमा उल्लेख छ ।

प्रतिबन्ध लगाएसँगै त्यसको असर देखिन थालेको छ । भरतपुरमा बुधबार विस्फोट भएको छ भने विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्माको गृहजिल्ला कालीकोटमा प्रहरीले सर्च एण्ड एरेष्ट अपरेशन सुरु गरेको छ ।

कान्तिपुर लेख्छ– सरकारले चन्द समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै प्रदेशहरुमा सुरक्षा सतर्कता बढाएको छ । सुरक्षा निकायलाई आन्तरिक विज्ञप्तिमार्फत दिइएको सूचनामा भनिएको छ– हतियारसहित फेला परे तत्काल फायर खोल्नू ।’

शान्तिपूर्ण भेला वा कार्यक्रम गर्न पनि विप्लव समूहलाई प्रतिबन्ध लगाइएको छ । प्रहरीले शान्तिपूर्ण गतिविधि गरेमा मात्रै पनि उनीहरुलाई नियन्त्रणमा लिने नीति लिएको छ ।

 

तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

FOLLOW US ON